‘पारस चोर पेरिस छोड’
पेरिसमा उनी विरुद्ध भएका प्रदर्शनको समाचार निक्कै रोचक छ र यसले केही क्षण भएपनि नेपालका लोकतन्त्रवादीहरुलाइ प्रोत्साहन मिलेको छ ।
ठुलो बाबु राजा विरेन्द्रको वंश नासहुने गरी नारायणहिटी हत्याकाण्ड मच्याउने उद्ण्ड पारस नेपालमा मात्र नभई संसारभरवाट खेदिइरहेका छन् । नेपालको राजधानी काठमाडौंमा पारस चोर देश छोड’ को नारा धन्किएको घटना नौलो होइन । तर, उनी फ्रान्सको राजधानी पेरिस पुग्दा समेत यस्तै नारा घन्कियो । त्यहा उनका विरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले भने-’पारस चोर पेरिस छोड ।’
पूवनिर्धारित कार्यक्रमअनुसार थोक्रादेरोमा मात्र कालो झण्डा देखाउने रहेको भए पनि थ्रोकादेरोपछि उनीहरु बेलुका पारस भोजमा संलग्न रहेको युनेस्को भवनअगाडि समेत विरोध प्रदर्शन गरेका थिए। तर शाही नेपाली राजदुतावासले अत्यन्त कडा सुरक्षा व्यवस्था मागेका कारण त्यहाँ भने कालो झण्डा देखाउन दिइएन। 
प्रदर्शनमा फ्रान्सेली नागरिक तथा जर्मनी र बेल्जियमबाट नेपालीहरुसमेत आएका थिए। सो प्रदर्शनमा बाँडिएका पर्चाहरु पढेर टावर आइफल हेर्न आएका पर्यटकहरुले ताली लगाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक मञ्च पेरिसका अशोक न्यौपानेले देश रगतमा डुबिरहेको बेला दरवारियाहरु देशको सम्पती उडाएर मोजमस्ती गरिरहेका कारण आफूहरूले सो बिरोध गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, "जंगी शासन चलाउने राजसंस्थाका बिरुद्ध बोल्न र बिरोध गर्न हामीलाई कर लागेको छ। जनताले हत्यारा ठानेका पारसलाई कालो झण्डा देखाएका हौं। यस्ताले मानवअधिकार सम्पन्न देश टेक्नु पनि लाजमर्दा कुरा हो।"
देशमा बग्रेल्ती समस्याहरु रहेका र तिनलाई हल गर्न शान्ती र समझदारीको बाटो अंगाल्नुको सट्टा फजुल र अनावश्यक भ्रमणहरु गरेर मुलुकलाई अझ कंगाल बनाएको न्यौपानेले आरोप लगाउनुभयो।
मञ्चका अर्का सदस्य हरिहर अर्यालले काठमाडौंमा हप्तामा एक घण्टा पनि पानी दिन नसक्ने सरकार राज्यको ६ करोड रुपैयाँ उडाएर मोजमस्तीमा युरोप आएको भन्दै यस्ता अनावश्यक भ्रमणहरु तुरुन्त रोकिनुपर्ने बताउनुभयो। बिगत झण्डै २ शय ५० बर्षयता नेपालको दरबार जनताको सम्पत्तीमा हालीमुहाली गर्न पल्केको उल्लेख गर्दै उहाँले राजनीतिक पार्टीहरूले दरबारको हातबाट सम्पूर्ण अधिकार खोसेर नागरिकहरुलाई सर्बाधिकार सम्पन्न बनाउन कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभयो।
मुलुकमा चलिरहेको रक्तपातपूर्ण हिंसाको शान्तिपूर्ण तरिकाले निकास दिन पार्टीहरूले खुट्टा कमाएर बस्न समय बाँकी नरहेको बताउनुभयो।
यसैगरी बेल्जियमबाट विरोध कार्यक्रममा भाग लिन आउनुभएका नवीन सापकोटाले नेपालको राजनीतिक आन्दोलनले गणतन्त्रको गति समातिसकेको उल्लेख गर्दै नेपालीहरूले शसक्त रुपमा क्रान्तिका पक्षमा जनमत श्रृजना गर्नुपर्ने बताउनुभयो।
प्रदर्शनमा नेपाली आन्दोलनका चर्चित गाउँ-गाउँ बाट उठ र कोहीको लुगा १२ ठाउँ टालेको भन्ने गीत तथा माइला लामाले लेखेको व्यगं गीत गाइएको थियो भने मालिकका सेवामा नोकरहरु भन्ने कविता बाचन पनि गरिएको थियो।
प्रदर्शनमा गैँडा पाए पनि नेपाली सरकारलाई हतियार नदेऊ, राजाको चुनाव हतियारका साथ, पर्यटकहरुका लागि नेपाल स्वर्ग तर हामी नेपालीहरु दुईतर्फका हतियारबीच बाँचेका छौं भन्ने ब्यंग्यात्मक सन्देश बोकेका ब्यानरहरु बोकिएको थियो।
त्यसैगरी हामी नेपाली लोकतन्त्र चाहन्छौं, फजुल भ्रमण बन्द गर प्रेस स्वतन्त्रता र मानबअधिकारको सुनिश्चितता गर, बिबादास्पद आतंककारी कानून खारेज गर, नेपालको तानाशाही सरकारलाई कुनै पनि सहयोग नगर, आजको आवश्यकता लोकतन्त्र जस्ता फ्रान्सेली ताथ नेपाली भाषामा लेखिएका व्यानरहरु प्रदर्शन गरिएका थिए। मञ्चले नेपालमा लोकतन्त्र स्थापना नहुञ्जेल भविष्यमा पनि कार्यक्रमहरू गर्ने बताएको छ।
