पुत्ला होइन, राजालाई नै जलाऔं
राजधानीलगायत देशभर आन्दोलनको डंढेलो सल्किसकेको छ । सरकारले लगाएको कर्यू र गोली हान्ने धम्कीको प्रतिवाद गर्दै जनताले सानदार प्रदर्शन गरिरहेका छन, घरघर आन्दोलनमा जुटेको छ । राजधानी बाहिरबाट यस्तो खबर आएको छ, जुन दृश्य राजधानीमा पनि देख्न सकिन्छ । आमनागरिकले स्वतस्फूर्त रुपमा कर्यु तोडेर राजधानीमा आज पनि प्रदर्शन गरिरहेका छन । बिहानैदेखि प्रदर्शन भइरहेको छ । भर्खरै म राजधानीको चुच्चेपाटीबाट आफ्नो कार्यालय कलंकी आइपुगेको छु । चुच्चेपाटीमा आन्दोलनकारी र प्रहरीबीचको झडप हेर्न पाइएको थियो । प्रदर्शनकारीले चुच्चेपाटी भन्दा अलि पर महाकांलमा रहेको प्रहरी बीट जलाएका थिए, र राजा ज्ञानेन्द्रको पुत्ला बोकेर नारावाजी गर्दै चुच्चेपाटी चोकमा आएर पुत्ला जलाएका थिए । शान्त थियो, त्यहांको वातावरण । तर, केही समयपछि थप बलका लागि आएको प्रहरीले बहुला पारामा आन्दोलनकारीमाथि जथाभावी लाठी वर्षाएपछि स्थिति तनावपूर्ण बन्यो । नारावाजी गर्दै स्वतन्त्रताको माग गरिरहेकाहरुमाथि प्रहरीले अश्रूग्यांस पनि हान्यो । त्यहां अशान्ति भयो, भागदौड भयो, कतिपय आन्दोलनकारी घाइते भए, रिसको झोकमा उनीहरुले पनि प्रहरीतिर ढुंगा तेर्स्याए । त्यो दृश्य देखेर मेरो मनमा के लाग्यो भने अहिले जति पनि अशान्ति भइरहेको छ, त्यो त सुरक्षाकर्मी बहुलाएर पो रहेछ । त्यसो त राजधानीमा कर्यू तोड्दै बिहान निस्केको जुलुसमाथि प्रहरीले डिल्लीबजारमा गोली नै चलायो, गोली लागेर एक जना विद्यार्थी घाइते भएका छन । की र्तिपुर, सामाखुसी, जोरपाटी, चाबहिल, नयां बानेश्वर, कलंकीलगायत काठमाडौंका विभिन्न भागमा नागरिकहरु ज्यान माया मारेर आन्दोलनमा उत्रिएका छन । भक्तपुर र ललितपुरमा पनि यस्तै स्थिति छ । की र्तिपुरमा त १५ हजार भन्दा बढीको जुलुस छ र सरकारको बलबुताले त्यो आन्दोलन नरोकिने देखिएको छ । ललितपुरमा जुलुस निक्लने बित्तिकै प्रहरीले हस्तक्षेप गरेर चरि्चत विद्यार्थी नेतृ रामकुमारी झाक्रीलगायतलाई मरणाशन्न हुने गरी कुटेर पक्राउ गरिएको छ । राजाधनीमा आन्दोलनको राकोले आफ्नो गद्धी सल्केला कि भन्ने डरले राजा बसिरहेको मुकाम पोखरामा पनि कर्यू तोडेर प्रदर्शन भइरहेको छ । त्यहांबाट पनि रामकुमार बस्नेतलगायतका विद्यार्थी पक्राउ परेका छन, जहां एक दिन अघि अर्थात शनिबारमात्र शाही सुरक्षाकर्मीले हानेको गोली लागेर भिमसेन दाहालको मृत्यु भएको थियो । काभ्रेका दाहालको शव आजै बिहान उनको घर पुर्याइएको छ । यसले त्यहां हजारौं आन्दोलनकारीलाई सडकमा उतारेको छ, निक्कै शोकमा डुबेकाहरु उत्रेका छन, सडकमा उता चितवनको भरतपुरमा प्रहरीले हिजो हानेको गोली लागेकी ३२ वषिर्य तुल्सी क्षेत्रीको मृत्यु भएको छ । यसले त्यहांको आन्दोलन झनै चर्किएको छ । बुटवलमा त स्थानीय महिलाले त्यहांको सबै सरकारी कार्यालयको साइन बोर्डमा श्री ५ भन्ने शब्द हटाएर नयां शैलीको आन्दोलन गरेका छन । यसलाई राजाको गद्धी खोस्ने संकेतका रुपमा लिन सकिन्छ । घट्नाहरुले जनताको अगाडी राज्य हारेको देखाइरहेको छ । अब राज्यको कफ्यूले काम गर्नेवाला छैन । जनता मारेर पनि हुनेवाला छैन । त्यही कारण आफ्नो सत्ता जोगाउन राज्य संकटकालको घोषणा गर्ने तयारीमा जुटेको बुझिन्छ । यो पनि मक्किसकेको राज्यको सुरक्षाकवज बन्ने छैन । जनता जागिसकेका छन, शाही सत्ता ढल्नै लागेको छ ।
