जनतासंगै पत्रकार सडकमा
के गर्नु निरंकुश राजाले सक्रिय शासन संचालन गरेपछि पत्रकारले लेखेरमात्र पुगेन, सडकमै ओर्लनु परेको छ । जति दमन र अत्याचार बढ्छ, पत्रकार त्यतिनै आन्दोलनमा आउनु पर्ने बाध्यता आईलाग्दो रहेछ । राजाको शासन ढाल्न जनता उठिसकेका छन, पत्रकार पनि जनतालाई साथ दिन राजाको अत्याचार विरुद्ध आज सडकमा ओरि्लन बाध्य भए । जनआन्दोलनमाथि भइरहेको दमन, निरंकुश शाही सत्ताले जनताको आन्दोलनलाई रोक्न लागू गरेको करर्यू, निषेधाज्ञा र स्वतन्त्र पत्रकारिता गरिरहेका निजी संचार माध्यमलाई करर्यू पास नदिएको विरोधमा पत्रकारहरुले आज विरोध प्रदर्शन गरे । निषेधाज्ञाको अवज्ञा गर्दै सञ्चारग्राममा बिहान ९.३० बजेदेखि एक घण्टा जुलुस, धर्ना र विरोध सभा भएको थियो । नेपाल पत्रकार महासंघको आयोजनामा भएको जुलुसपछि आयोजित सभामा बोल्दै महासंघका सभापति विष्णु निष्ठुरीले सरकारले चैत २४ देखि सात दलद्धारा आयोजना भइरहेको आमहड्तालको समाचार संकलन गर्न गएका एक सय भन्दा बढी पत्रकारहरुलाई गिरफ्तार गरेको तथ्यांक दिंदै त्यसप्रति आपत्ति जनाउनुभयो । पत्रकारहरुले स्वतन्त्र सञ्चार माध्यमलाई समाप्त गर्न सरकारले एकद्धार विज्ञापन नीति ल्याएको, करर्यूको समयमा पास उपलब्ध नगराएको र पत्रकारलाई गिरफ्तार गर्ने र कुटपिट समेत गरेको भनी सरकारको कडा विरोध गरे । निष्ठुरीले दुइ दर्जन पत्रकारहरुलाई सरकारले अझै पनि गैरकानुनी रुपमा हिरासतमा राखेको जानकारी दिंदै असंवैधानिक सरकारले घोषणा गरेको कुनै पनि निषेधाज्ञा र कर्यूलाई अवज्ञा गर्दै शान्तिपूर्ण प्रदर्शनमा सक्रिय हुन आव्हान समेत गर्नुभएको छ । महासंघका पूर्व सभापति हरिहर विरहीले नीजी क्षेत्रका सञ्चार माध्यमलाई समाप्त गर्न सरकार एक पछि अर्को आदेश जारी गर्दै आएको भन्दै करर्यूको समयमा सञ्चारमाध्यमलाई पास उपलब्ध नगराएर सरकारले निरंकुशताको रुप प्रदर्शन गरेको बताउनुभयो । सभालाई महासंघका पूर्व सभापतिहरु तारनाथ दाहाल , सुरेस आचार्य ,साफ्माको नेपाल अध्यक्ष गोपाल थपलिया ,पत्रकारहरु तेजप्रकाश पण्डित ,किरण पोख्रेल ,निर्मल शर्मा ,भरतराज पोखरेललगायतले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्न सरकारले पत्रकारहरुमाथि आक्रमण गरिरहेकोले त्यसको विरोधमा देशब्यापी आन्दोलन गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
