एक नम्बर अपराधी राजा
कोठाका सबै झयालढोका बन्द गरेर बिरालालाई चुट्दा आत्मरक्षाका लागि चुट्नेको घांटी अंठ्याउंछ । अहिले सबै नागरिक हकहरूमाथि बन्देज लगाइएको छ । बन्देजविरुद्ध मुख खोल्ने नागरिकहरूमाथि हिटलरी शैलीमा दमन थोपरिंदा राजाको शासनमा नागरिकहरूको अवस्था बन्द कोठामा चुटिने बिरालाको जस्तै भएको छ । त्यसैले प्रताडनामा परेका नागरिकहरू आफनो शारीरिक र नैतिक अस्मिताको रक्षा गर्न देशभरि आक्रोशको सामूहिक भाषामा रूपान्तरित हुंदै आन्दोलित हुन थालेका छन् । सामान्य नागरिकले राजनीति त्यति नबुझे पनि ज्यान र धनका कुरा राम्रैसंग बुझछन् । त्यसैले निरङ्कुशतन्त्रविरोधी नागरिकहरूका तर्फबाट राजा ज्ञानेन्द्रलाई केही प्रश्न सोध्नै पर्छ । १. पर्दापछाडि बसेर तुलनात्मक रूपले भलाद्मी र उदार मानिने राजा वीरेन्द्रको वंशविनाश गर्ने षड्यन्त्रको तानाबाना बुनेको कसले हो ? २. राष्ट्रियकरण गरिनुपर्ने राजा वीरेन्द्रको परिवारका सदस्यको नाममा रहेको खर्बौ रुपियांको सम्पत्ति आफै हड्पेको कसले हो ? त्यो सम्पत्तिको एकिन हिसाब कति हो ? ३. राजा वीरेन्द्रका पालामा दरबारको वार्षिक भत्ता ११ करोड रूपैयां थियो । शासन हातमा लिएपछि आफुखुशी आफ्नो भत्ता बढाउंदै अहिले कति करोड वा अरब पुर्याइएको छ ? जनताका रगत र पसिनाबाट राज्यकोषमा जम्मा भएको रकम कसको अनुमतिले यसरी बर्मलूट गरिएको हो ? ४. आफ्नै हुकुमअनुसार गराइएका अभिनन्दन, देवीदेवताहरूको पाखण्डपूर्ण दर्शन आदिमा नाश गरिएको रकम कति हो ? ५. युवराज पारस गोठालो भएर अष्ट्रियाको चिडियाखानामा गैडा पुर्याउन जांदा कति रकम उडाइयो ? ६. मुलुकका बहुसङ्ख्यक जनता गरिबी र द्वन्द्वको मारमा परेर भोकै र नाङ्गै तड्पिरहेका बेला दरबारका लागि कतिवटा बुलेटप्रुफ गाडी किनिएका छन् ? त्यो कुन श्रोतबाट के नियमका आधारमा झिकियो ? अनि त्यो विलासी खर्च जम्मा कति हो ? ७. राजनैतिक, आर्थिक र कूटनैतिक सबै दृष्टिले रत्ती अर्थ नराख्ने राजा ज्ञानेन्द्रको तीनहप्ते अप्रिmका भ्रमणमा राज्यकोषको कति रकम खरानी पारियो ? ८. जारी द्वन्द्वको न्यायपूर्ण समाधानलाई बेवास्ता गर्दै युद्ध र सैन्यवादलाई बढाएर हातहतियार र गोला-बारुद खरीद गर्दा राजालाई कति कमिसन लाभ भएको छ ? ९. राज्यलाई कङ्गाल पारेर कुन-कुन विदेशी बैङ्कमा कति-कति रकम थुपारिएको छ ? १०. अगाडिका कुरा नगरौ, लोकतन्त्रका पक्षमा पछिल्लोपल्ट चलिरहेको शान्तिपूर्ण आन्दोलनमा मात्र पांचजना नागरिक मारिएका छन् । मन्दिर, शिक्षालय, अस्पताल, पसल र घरघरमा पसी हजारौ नागरिकहरूमाथि निर्मम कुटपिट भएको छ । निर्दोष जनतालाई अपमानित र प्रताडित गरिएको छ । अङ्गभङ्ग हुनेहरूको सङ्ख्याले पनि हजार नाघिसक्यो । प्रष्ट के हो भने यो ज्यादतीमा दुर्इ नम्बरका अपराधी गृहमन्त्री कमल थापा हुन् । कमल थापालाई हदैसम्म ज्यादती गर्न आदेश दिने एक नम्बरको अपराधी चाहिं को हो ? ११. स्वतन्त्रताप्रेमी नागरिकहरूलाई मार्ने र राज्यकोषको रकम बर्मलूट गर्ने अधिकार राजालाई कुन विधि, नीति र नियमबाट प्राप्त भएको हो ? १२. दरबारका शाहज्यादाले आफै चलाएको महेन्द्र प्रकृति संरक्षण कोषको पजेरो मोटरले किचेर कलाकार प्रवीण गुरुङको ज्यान लिएको ज्यादती इतिहासमा मेट्नै नसकिने गरी लेखिएको छ । के कलाकारका हत्यारालाई राजाले न्यायको कठ्घरामा उभ्याउनु पर्दैन ? १३. २९ चैतमा गोंगबुमा कतिजनाको हत्या गरियो - लाश कहांलुकाइएको छ - मध्यरातमा घरबाट निकालेर लगिएकाहरू कहां छन् ? यी मान्छेका हत्याराहरूलाई आदेश दिने १ नं. अपराधी को हो - सरकार प्रमुखबाट यसको जवाफ दिनुपर्छ पर्दैन ? मुलुकका लोकतन्त्र, विधिको शासन र शान्तिप्रेमी नागरिकहरूका न्यायोचित प्रश्नहरू हुन् । यी प्रश्नहरूको सा र्वजनिक रूपले उत्तर दिन राजा ज्ञानेन्द्रलाई देशभरिका नागरिकहरूले एकहप्ताको म्याद दिएका छौं । राजधानीका जागेका जनता ३० चैत २०६२
