: : April : : 2006 <

April 14, 2006

म त दिन्न शुभकामना

Filed under: समाचार

नयां वर्ष २०६३ को शुभकामना, आज जसले भेटे पनि मलाई यस्तै भने । किन भने कुन्नि बुझ्नै सकिएन । मलाई चाहिं नयां वर्षको शुभकामना दिन मनै छैन । त्यही कारण अरुले दिएको शुभकामना पनि मनले ममानी नमानी ‘सेम टु यू’ भनेर फर्काए । यसो भन्दा मेरो मन पटक्कै प्रसन्न भएन । त्यही कारण म भन्दै छु, म त दिन्न शुभकामना ।

यसो भन्दा मलाई कतिपयले अचम्मको मान्छे, निरस मान्छेपनि भन्लान । तर भनून्, मलाई केही छैन । देशमा रगत बगिरहेको बेला, प्रजातन्त्र नभएको बेला, खल्तीमा दाम नभएको बेला, आफ्नो मात्र होइन, देशकै भविश्य के होला भन्ने चिन्ताले डेरा जमाइरहेको बेला के को शुभकामना ? जति बेला यी चिन्ता दुर होलान्, प्रजातन्त्र आउला अनि दिउला शुभकामना ।

ल शुभकामना लिनै चाहनु हुन्छ भने लोकतन्त्र आउने दिनका लागि अहिले नै अर्थात अग्रीम शुभ कामना है त । जहिले लोकतन्त्र आउला, त्यसै दिनका लागि ।

आन्दोलन शुभकामना

Filed under: समाचार

सात राजनीतिक दलले तपार्इ हामीलार्इ आज नयां वर्ष २०६२ को शुभकामना दिएका छन । जनआन्दोलन समाप्त पार्दै सत्तारोहण गर्ने हुन कि भन्ने भ्रम चिर्दै ती दलले नयां वर्षलार्इ आन्दोलनको वर्ष बनाउने भएका छन । क्यावात, नयां वर्षा राजासंग नुझुकी राजालार्इ नै झुकाउने गरी आन्दोलन घोषणा गरेकोमा ती दललाई । भोलिदेखि फेरि जनताको आन्दोलन उठ्ने भन्दैं ‘जनआन्दोलन दबाउन शाही सरकारले गरेकोजघन्य अपराध तथा अत्याचारको एक/एक हिसाबकिताब’ राख्ने तिनको ताजा निर्णय यहां राखिएको छ । मान्नुस् यही हो सात दलको नयां वर्षको शुभकामना, आन्दोलनको शुभकामना क्या । जानकारीका लागि सात दलको निर्णय जस्ताको तस्तैः

प्रेस विज्ञप्ति

आज ०६३ बैशाख १ गते संयुक्त जनआन्दोलन उपत्यका संयोजन समितिको बैठकले निम्न निर्णय गरेको छ-

१. निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र स्थापनाका लागि गत ०६२ चैत २४ गतेदेखिको आमहड्ताल सफलतापूर्वक सम्पन्न भइरहेको छ । आन्दोलनलाइ सफलताको यो उचाइमा पुर्‍याउन साथ, सहयोग र समर्थन दिनुहुने सम्पूर्ण जनसमुदायप्रति हामी धन्यवाद ज्ञापन गर्दछौ । भोलि बैशाख २ गतेदेखिको आमहड्ताललाइ थप सशक्त, जुझारु एवं प्रभावकारी रुपमा अघि बढाइने कार्यक्रममा हामी सम्पूर्ण यातायात, उद्योगधन्दा, कलकारखाना, पसल, शिक्षण संस्थालगायत सबै क्षेत्र बन्द गरी पुनः सडकमा उत्रन सम्बन्धित सबैलार्इ आहृवान गर्दछौं ।

२. लोकतान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण सहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । घाइतेहरुप्रति उच्च सम्मान जाहेर गर्दछौ । यसक्रममा निरंकुश शाही सरकारले गरेको जघन्य अपराध तथा अत्याचारको एक/एक हिसाब किताब चुकाउन सम्पूर्ण आन्दोलनकारी जनसमुदायलाई अझ उच्च मनोबल र साहसका साथ सडकमा उत्रन आहृवान गर्दछौ ।

३. आन्दोलनका क्रममा सहादत प्राप्त गरेका, घाइते भएका तथा वेपत्ता पारिएका आन्दोलनकारीको अभिलेख तयार गर्न साथै आन्दोलनमाथि निर्मम दमनमा उत्रने व्यक्तिहरुको समेत अभिलेख तयार गरी सात दलको केन्द्रीय निकायमा पठाउन हामी स्थानीय निकायलार्इ आहृवान गर्दछौ । साथैं गोंगबुलगायतका क्षेत्रबाट वेपत्ता पारिएका व्यक्तिहरुको स्थिति सार्वजनिक गर्न सहयोग पुर्‍याउन मानवअधिकारकर्मी तथा पत्रकार मित्रहरुलार्इ हार्दिक अनुरोध गर्दछौं ।

४. शान्तिपूर्ण आन्दोलनमाथि जंगली तथा बर्बर दमन गर्ने जो कोही पनि जनताका नजरमा अपराधी ठहरिने छन । हामी तिनीहरुलार्इ अपराधीको सूचीमा सूचीकृत गरी कडा भन्दा कडा सजाय दिन प्रतिवद्ध छौं । यसक्रममा लोकतन्त्रका हिमायती तमाम सुरक्षाकर्मीलाई शान्तिपूर्ण आन्दोलनमाथि दमन नगर्न अपिल गर्दछौं ।

संयुक्त जनआन्दोलन उपत्यका समन्वय समिति








Get free blog up and running in minutes with Blogsome | Theme designs available here

-->